श्रीमानलाई साउदीमा मृत्युदण्ड दिएको खबर सञ्चार माध्यमबाट थाहा पाएकी माया भन्छिन्- न लास आयो, न लाहाछाप लगाएको चिठी 

News

विवाह गरेर जम्मा ४ वर्ष सँगै बस्न पाएकी मायालाई यतिञ्जेलसम्म सँगै बसेर श्रीमान् गुमाउँदा त्यति धेरै पीडा हुँदैनथ्यो होला, जति २४ वर्ष टाढा बसेर गुमाउँदा भएको छ

पोखरा — भेट्न आएका आफन्तको जुत्ता र चप्पलका जोडी मूल ढोका बाहिर फिँजारिएका छन् । घरको भुइँ तल्लाको कोठामा बिरामी छोरा लडिबुडी गर्दै छ । दोस्रो तलामा माया पुन आफन्तले घेरिएर बसेकी छन् ।

घरि भित्तामा फोटोसपबाट जोडेर फ्रेममा सजाइएको श्रीमान् श्रीमतीको तस्बिर हेर्दै टोलाउँछिन् । घरि मन बहलाउन आएका आफन्तका कुरा सुनेर खित्का छाड्छिन् । आफ्ना श्रीमान् सन्तबहादुरलाई साउदीमा मृत्युदण्ड दिइएको खबर सुने पनि न लास भेटेकी छन्, न लाहाछाप लगाएको चिठी । किरिया गर्ने कि कुर्ने, केही मेसो पाएकी छैनन् ।

पर्वतको मोदी गाउँपालिका–४ खुइजेरीबाट माया र उनका तीन छोरा पोखरा–२७ अर्घौं झरेको ३ वर्ष भयो । बाबु परदेश जाँदा ९ महिनाको थियो कान्छो छोरा । ऊ कोरिया गएर बनाएको घर सन्तबहादुरले देख्नै पाएनन् । साहूका भेडा लुट्न आएका साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्या अभियोगमा २०५८ मा मृत्युदण्डको फैसला सुनाइएपछि उनी जेलमा थिए । उनीमाथिको सजाय रोयल कोर्टले समेत अनुमोदन गरेपछि गत बिहीबार फैसला कार्यान्वयन भयो । उनी कहिल्यै नफर्किने गरी अस्ताए । यता परिवारले सञ्चारमाध्यमबाट यो खबर थाहा पायो । २२ वर्ष अन्योलमै बिताएको उनको परिवार मृत्युदण्डको आधिकारिक जानकारी अझै नआउँदा थप अन्योलमा छ ।s

विवाह हुँदा सन्तबहादुर २० वर्षका थिए, माया १९ की । विवाह गरेर ४ वर्षजति सँगै बसे । साउदी आउजाउ गरिरहने नजिकैको अर्को गाउँ बाजुङका एकजनाले सन्तबहादुरलाई विदेश लैजाने बताए । मायाले नै त्यतिबेला एक लाख २५ हजार रुपैयाँ ऋण खोजेर सन्तबहादुरलाई साउदी पठाइन् । साउदीबाट ४ वर्ष ८ महिनामा फर्किएर आए । घर आउँदा ऋणसम्म तिरे । ६ महिना घरमा बिताएर उनी फेरि साउदी नै जाने भए । आमा, श्रीमती र तीन छोरालाई नवलपरासीको कावासोतीमा झारेर उनी साउदीमै फर्किए । ‘अब त्यति लामो समय बस्दिनँ, दुई वर्षमा आउन पाउँछु भनेर जानुभएको थियो,’ कुराहरू छिट्टै बिर्सने भइसकेकी मायाले आइतबार सम्झने कोसिस गर्दै भनिन्, ‘त्यति नै अन्तिम रहेछ ।’

परिवार नवलपुर नै रहेको बेला दुई वर्षपछि गाउँको नजिकको बजार बाजुङमा सन्तबहादुर साउदीमा जेल परेको खबर आइपुग्यो । २०५४ सालमा बाजुङमा फोन पुगिसकेको थिएन । सन्तबहादुरलाई नै विदेश लैजानेले खबर ल्याइपुर्‍याएका थिए । खबर पाएपछि छोराहरूलाई लिएर माया गाउँ फर्किन् । ‘त्यतिबेला उहाँ घर आउने भनेर सामान सबै प्याक गरेर बस्नुभएको रहेछ । अर्को साथीले म घर जान्छु, तिमी दुई महिना बस्देउ । दुई महिना मेरो भेडा हेर्ने काम गर्देउ । दुई महिनापछि घर गएर आउँछु भनेका रहेछन्,’ उनले सम्झिइन्, ‘त्यतिबेला बिदामा आएको भए पनि त्यस्तो नहुने रहेछ । यस्तै हुन लेखेको थियो होला । नत्र छुट्टी आउने बेला भएको थियो ।’ सुटकेसमा कम्बल थियो, छोराहरूलाई लुगाफाटो, चकलेट थियो । दुई वर्षसम्म सन्तबहादुरलाई नजरबन्दमा राखियो । दुई वर्षपछि साहुले सुटकेस जेलमै पुर्‍याइदिए । सामान सबै कुहिएको थियो ।

जेल परेको चार वर्ष पुग्नै लाग्दा बल्ल आफू जेल परेको खबर सन्तबहादुरले चिठीमार्फत पठाए । चिठी आइपुग्नै चार महिना लागेको थियो । त्यसपछि चिठी पठाइरहे । केही वर्षपछि बाजुङसम्म नेट फोन चल्न थाल्यो । सन्तबहादुरले बाजुङमा फोन गर्न थाले । पर्सिपल्ट फोन आउनु छ भने आज नै खबर पुर्‍याउनुपर्थ्यो । फोन आउने दिन एक–डेढ घण्टा हिँडेर बाजुङ पुग्थिन् । कहिले दिनभरि फोन कुर्नुपर्थ्यो । कहिले साँझसम्मै फोन नआएपछि खसमको स्वर नसुनी फर्किनुपर्थ्यो ।

केही वर्षपछि साउदीतिरकै मान्छेले लुकाएर बेच्न लगेको फोन किनेर सन्तबहादुरले चलाउन थाले । मोबाइल लुकाएर चलाउँदा दिउँसो गर्न मिल्थेन । रातिमा यताबाट मिस्डकल हानेपछि उताबाट सन्तबहादुरले फोन गर्थे । २०५८ मा उनलाई मृत्युदण्डको फैसला सुनाइयो । उनले आफूले हत्या गरेको व्यक्तिको जेठो छोराले माफी दिएको र कान्छो छोरा २० वर्ष पुगेपछि थाहा हुने मायालाई बताउने गर्थे । श्रीमान्ले माफी पाएर नेपाल फर्किने आशामा उनी थिइन् ।

घरमूली नै परदेशको जेलमा परेपछि उनले पाएको दुःख भनिसाध्यै भएन । तीन छोरालाई गाउँमा मेलापात गरेर, रक्सी पारेर ८ सम्म पढाइन् । त्यतिञ्जेल सन्तबहादुरले जेलभित्रै काम गरेर केही रकम पठाउन थाले । गाउँमा छोराहरूको पढाइ राम्रो नभएको ठानेर माया तीन छोरासहित सदरमुकाम कुस्मा झरिन् । कोठा भाडा तिर्न, छोराहरूलाई पढाउन, बिहान–बेलुकाको छाक टार्न ज्यामी काम गरिन् । ‘उहाँले नजाउँ पैसा हुन्न भन्नुहुन्थ्यो । यहाँ मैले काम गरेर कहिले पैसा पठाउन सकौंला, कहिले नसकौंला भनेर भन्नुभएको थियो,’ उनले भनिन्, ‘मैले काम गरेर पनि पढाउँछु नि भनेर छोराहरूलाई लिएर हिँडे । १२ वर्षजति कुस्मा बसें । अर्काको घरमा काम गरेर हुन्छ कि, ज्यामी काम गरेर हुन्छ अलिअलि बचत पनि गरें ।’ उनले छोराहरू मात्रै पढाइनन्, तत्कालीन लेखनाथ नगरपालिकाको अर्घौंमा घडेरी पनि किनिन् । जेठा छोरा शिव सानोमा अलि ढिलै हिँडेका थिए । डेढ वर्षअघि उनी नसासम्बन्धी रोगले थलिए । बोल्न सक्छन्, हिँड्न सक्दैनन् । माइलो छोरा खड्क पोर्चुगल गएको दुई वर्ष भयो । कान्छो छोरा मीन कोरिया ५ वर्ष बसेर फर्किएका छन् । उनी फेरि जाने तयारीमा छन् ।

जेलबाट सन्तबहादुर म्यासेन्जरबाट भिडियोकल गर्थे । दिनदिनै जसो कुराकानी हुन्थ्यो । घर बनाउन उनको परिवार तीन वर्षअघि पोखरा झर्‍यो । घर बनिरहेकै बेलामा उनको मोबाइल जफत भयो । जेलको ल्यान्डलाइनबाट मात्रै फोन गर्न पाउने भए । ‘यो घर कति बन्यो भन्ने नै हेर्न पाउनुभएन । त्यही फोनबाट भनेको भरमा मात्रै थाहा पाउनुभयो,’ मायाले सुनाइन् । मोबाइल खोसिएपछि २–३ दिनमा फोन हुन्थ्यो । मृतकको कान्छो छोरा २० वर्ष पुगिसक्दा पनि केही कुराअघि नबढेको उनी सुनाउँथे । ‘अदालतमा बोलाउँदा गइराख्छु भन्नुहुन्थ्यो । त्यही सही गरेर फर्किन्छु भन्नुहुन्थ्यो,’ मायाले भनिन्, ‘केही बुझ्दै नबुझी सही गर्नुहुन्छ त भनेर सोध्दा कहाँ सबै प्रस्ट बुझिन्छ र उनीहरूले केही पनि भन्दैनन् । पुलिसलाई सोध्दा त्यस्तो सही गर्न कति आउनुपर्छ भन्छ भन्नुहुन्थ्यो ।’

बिहीबार बिहान १२ बजेतिर फोन आएको थियो । मायाले यताबाट सोधिन्, ‘सञ्चै हुनुहुन्छ ?’ उताबाट सन्तबहादुरले जवाफ दिए, ‘अँ, सञ्चै छु ।’ यताबाट मायाले सोधिन्, ‘के गरेछौं र ? किन हिजोअस्ति फोन नगरेको ?’ उताबाट जवाफ आयो, ‘पैसा पनि थिएन । कुरा पनि केही हुन्न । त्यही भएर घरिघरि फोन नगरेको ।’ मायालाई शंका छ, त्यही दिनमा उनलाई मृत्युदण्डको फैसला कार्यान्वयन हुने कुरा थाहा पाएका थिए ।

त्यसो त मायाले कुस्मा हुँदै सन्तबहादुरलाई साउदी जेलबाट निकाल्न पहल नगरेकी होइनन् । तर परिवारको सदस्यले माफी नदिएसम्म बाहिरबाट जतिसुकै पहल गरे पनि केही नहुने सन्तबहादुरले बताउँथे । उनलाई थाहै नदिई मायाले परराष्ट्र मन्त्रालयतिर चिठी पठाइन् । केही सीप लागेन । ‘अब कहिले भेट हुन्छ कि हुन्न भन्ने जस्तो कुरा मनमा आउँथ्यो । भेट हुन लेखेको रहेछ भने भेट होला, नलेखेको रहेछ भने नभइएला भन्ने सोच्थें,’ गला अवरुद्ध बनाउँदै मायाले भनिन्, ‘छोराहरू हुर्काउँछु, यिनीहरूले नै मलाई पाल्लान् नि पछि भन्ने सोच्थें ।’

शुक्रबार मायाका भाइ लोकबहादुरले भेनाको फोन आए/नआएको सोधे । मायाले बिहीबार कुरा भएको सुनाइन् । उनको मनमा चिसो पस्यो । फोन आए/नआएको सोध्नुको कारण खोतलिन् । लोकबहादुरले समाचारमा के–के आएको थियो भनेर भेनाको बारेमा भने । मायाले मोबाइल खोलेर हेर्दा सामाजिक सञ्जालमा देखिन् । सन्तबहादुरलाई ५५ वर्षको उमेरमा मृत्युदण्ड भएको खबर उनको परिवारले थाहा पाएको सञ्चारमाध्यमबाट मात्रै हो । मृतकको कान्छो छोराले ‘खुनको बदला खुन’ भनेपछि उनले माफी पाएनन् ।

साउदी सरकारले नेपाल सरकारमार्फत मृत्यदुण्ड दिइएको आधिकारिक जानकारी गराइदिए हुन्थ्यो भन्ने उनको मनमा छ । ‘यस्तो यस्तो हो भनेर चिठीपत्र, फोन केही आएको छैन । लास पठाउने हो कि होइन भन्ने केही थाहा छैन,’ उनले भनिन्, ‘काजकिरिया कसरी गर्ने, खै के गर्ने के गर्ने ? केही पत्रहरू पर्खिने हो कि के गर्ने हो खासै मलाई केही पनि थाहै छैन ।’ साउदीमै भएका उनका बहिनी ज्वाइँले त्यस्तो लास नेपाल पठाउन्न भन्ने खबर गरेका छन् ।

विवाह गरेर जम्मा ४ वर्ष सँगै बस्न पाएकी मायालाई यतिञ्जेलसम्म सँगै बसेर श्रीमान् गुमाउँदा त्यति धेरै पीडा हुँदैनथ्यो होला, जति २४ वर्ष टाढा बसेर गुमाउँदा भएको छ । ‘घरि आउनुहुन्छ होला जस्तो लाग्थ्यो । घरि आउनुहुन्न होला, आउने भए यतिबेलासम्म आइसक्नुहुन्थ्यो जस्तो लाग्थ्यो,’ लामो मौनतापछि उनले भनिन्, ‘जसरी हुन्छ दिन काटौंला नि भनेर बस्थें । छोराहरूलाई हुर्काउँदा पनि समय बित्यो । अब मैले कसलाई के भन्ने ? कसले के गर्दिन्छन् र खै कसैले केही गर्दिएहुन्थ्यो जस्तो नि लाउन्न । म त केही सोच्नै सकेको छैन । आफूले सोचेको सबै अधुरो भइदियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *