मोटरसाइकलले कुकुरलाई ठक्कर दिएको विषयमा विवाद हुँदा गोली प्रहार

News

महोत्तरीमा मोटरसाइकलको चक्काले कुकुरलाई छोएको विषयमा विवाद हुँदा गोली प्रहार भएको छ।

रामगोपालपुर नगरपालिका-१ बसबिट्टिका ३८ वर्षीय कौशल मण्डलले ४४ वर्षीय श्रवण यादव माथि गोली प्रहार गरेका हुन्।

मंगलबार दिउँसो कौशलले चलाइरहेको मोटरसाइकलद्वारा श्रवणको कुकुरलाई ठक्कर लागेको थियो। सोही बेला कौशलले उनलाई गोली मार्ने धम्की दिएका थिए।

साँझ घरबाट पेस्तोल लिएर रामगोपालपुर चोकमा श्रवणमाथि उनले गोली प्रहार गरेको महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिए।

नायव उपरीक्षक गिरीका अनुसार कौशलले श्रवणमाथि दुई राउन्ड गोली प्रहार गरेका थिए। गोली प्रहार गरेका कौशल महोत्तरी प्रहरीको हिरासतमा छन्। प्रहरीले प्रहार भएको पेस्तोल र गोलीसमेत बरामद गरिसकेको छ।

श्रवणको जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ। श्रवणको घाटीमा गोली लागेर कन्चटबाट निसकेको उनको उपचारमा संलग्न चिकित्सक डा. सौरभ कर्णले जानकारी दिए।

उनका अनुसार अर्को गोली छातीमा लागेको छ। सो गोली उनलाई अस्पताल ल्याएर निकालिएको थियो। श्रवनको अवस्था गम्भीर रहेको चिकित्सक कर्णले बताए।

श्रवणलाई गोली प्रहार गरी कौशल भाग्न खोज्दा स्थानीयले पक्राउ गर्न खोजेका थिए। उनलाई पक्राउ गर्न खोज्दा थप दुई जना घाइते भएका छन्।

श्रवनको छोरा अविनाश यादव र थानीय सिया शरण मण्डल घाइते भएको श्रवणका सालो सुदिप यादवले जानकारी दिए। उनका अनुसार यी दुवै जनाको उपचार रामगोपालपुरकै अस्पतालमा भइरहेको छ।

‘कौशल बसबिट्टी आफ्नो घर लक्ष्मिपुर गइरहेको थिए। उनले चलाइरहेको मोटरसाइकलको चक्का कुकुरलाई किचिएको थियो,’ उनले भने, ‘त्यसपछि दुवै पक्षबीच गालीगलौज भएको थियो, पछि साँझ पाँच बजेतिर कौशलले भिनाजु श्रवणमाथि दुई राउन्ड गोली प्रहार गरे।’

श्रवन परिवारसहित भारतमा बस्ने गरेका थिए। डेढ वर्षअघि आएर यतै बस्न थालेका थिए। कौशल भने दश दिन अघि मात्रै कुवेतबाट आएका थिए।s

Leave a Reply

Your email address will not be published. Required fields are marked *