सुदूरपश्चिमबाट इजरायल गएका ४९ मध्ये १२ विद्यार्थी सम्पर्क विहीन

News

धनगढी। सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल गएका ४९ विद्यार्थीहरुमध्ये १२ जनाको अवस्था अज्ञात रहेको जनाइएको छ। परराष्ट्रमन्त्री एनपी साउदले इजराइलमा रहेका नेपालीको अवस्थाबारे संसद्लाई आज (आइतबार) जानकारी गराउँदै ४९ मध्ये १२ जनाको अवस्था अझै अज्ञात रहेको बताएका हुन्। इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत गएका थिए ।

उक्त कार्यक्रम अन्तर्गत गएकामध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना, कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना रहेका उल्लेख गरे। सम्पर्क विहीन हुनेहरूमा सुदूरपश्चिम विश्वविद्यालयबाट गएकाहरू रहेको उनको भनाइ छ । नेपाली समयअनुसार शनिबार बिहान ६ः३० बजेबाट प्यालेस्टाइनी लडाकु समूह हमासले इजराइलको दक्षिण क्षेत्रमा आक्रमण गरेको थियो। ‘नेपाली राजदूतावास, इजराइल सरकारको स्रोत एवम् अन्तर्राष्ट्रिय समाचार माध्यामबाटप्राप्त जानकारीअनुसार शनिबार बिहान प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको हो।

’सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरू दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका थिए। नेपाली राजदूतावासबाट प्राप्त अपडेट अनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकाले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये दुई जना सकुशल रहेको, तीन जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। बाँकी १२ जना सम्पर्क विहीन भएकाले उनीहरूको अवस्थाको यकिन गर्न नसकिएको जानकारी उनले दिए।

उनीहरूको अवस्था यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनले बताए।‘‘इजरायलमा हाल चार हजार पाँच सय नेपालीहरू केयर गिभरको रूपमा कार्यरत रहेका छन् । जल, हवाई र स्थलमार्गबाट हमास लडाकु इजराइलको दक्षिणी क्षेत्रमा प्रवेश गरी आक्रमण गरेको र त्यहाँका नागरिक बन्धक बनाउने गतिविधि भएको बुझिएको पनि मन्त्री साउदले बताए। गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना विद्यार्थीमध्ये १२ जना सम्पर्कविहिन भएका हुन्। जसमध्ये ११ जना छात्रा छन्। सम्पर्कविहिन विद्यार्थीहरु ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्र पुगेका थिए। यो क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ।

मन्त्री साउदले आज नै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरू सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको र सो संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरू गर्ने जानकारी दिए । उहाँले इजरायलमा हाल चार हजार पाँच सय नेपालीहरू केयर गिभरको रूपमा कार्यरत रहेका बताए।

बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको, केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।,’’मन्त्री साउदले भने, ‘‘इजरायलमा भएको यस दुःखद घटनालाई नेपाल सरकारले गम्भीरतासाथ लिएको छ । आजै बिहान प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसी परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरू सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको छ । यस संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरू गर्नेछ ।’’

मन्त्री साउदले उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र एवम् सम्पर्क परिचालन गरेको बताए । परराष्ट्र मन्त्रालयले नेपाली राजदूतावासलाई नेपालीहरूको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराइ सुरक्षित रूपमा रहन इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नको लागि नेपालीहरूलाई जानकारी गराउन निर्देशन दिइसकिएको उनले बताए। उनले नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीहरूलाई आवश्यक जानकारी सम्प्रेषण गर्ने इजरायल सरकार सँग समन्वय गरी आवश्यक उद्धार र घाइते नेपाली नागरिकको उपचारका लागि पहल कदमी लिइरहेको स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *