कसैका बिग्रेका छोरा सुधार्ने ठेक्का बुहारीको हो र?

News

एकदिन तराईको उखुम गर्मीले छटपटाउँदै बार्दलीमा बसेर हावाको प्रतीक्षा गरिरहेकी थिएँ।

हातमा विजय कुमारको पछिल्लो पुस्तक ‘सम्बन्धहरू’ थियो। आँखा पुस्तकका पंक्तिहरूमा अडिन खोजे पनि कान घरभित्रको गन्थन मन्थनतिर अलमलियो।

आमा र आन्टीहरूको गफगाफ चल्दै थियो। टोलको समूह बैठक पनि भएकाले महिला जमघटको दिन परेको। त्यस्ता भेलाहरूमा मलाई खासै चासो लाग्दैन।

त्यस्ता अवसरमा अक्सर गफ खुब चल्छ जुन हाम्रो घरमा रूचिको विषय कहिल्यै बनेन। तर बैठकको निहुँ भएकाले त्यस्ता गफगाफलाई रोक्ने कुरा पनि भएन। नचाहेरै कानमा परेका गन्थन मन्थनले मेरो ध्यान खिच्दै लग्यो। क्रमशः भित्रबाट आइरहेका अनेक प्रसंगहरूप्रति दिमाग चनाखो हुँदै गयो।

टोल समूहमा पेशाले महिला अधिकारकर्मी एकजना पढालेखा आन्टी हुनुहुन्छ। उहाँसँग मेरो मतभेद भइरहन्छ। टोलसमाजका घर-घरमा के भइरहेको छ, अधिकांश जानकारी उहाँलाई हुन्छ।

त्यसरी छरछिमेकीको विषयमा चासो राख्नु निकटताको हिसाबले राम्रै होला। तर सबैका व्यक्तिगत मामिलामा समेत चासो राख्नु कति जायज होला? ती आन्टीको व्यवहारले ममा बारम्बार उठिरहने यो प्रश्न उहाँ स्वयंलाई भने सोधेकी छैन।

esewaLaxmi bank
त्यस दिनको बैठकमा पनि उहाँ कसैलाई सल्लाह दिँदै हुनुहुन्थ्यो, ‘आ दिदी, तपाईं पनि छोरो बिग्रियो भनेर कति पिर गर्नुहुन्छ? खुरूक्क एउटा केटी खोजेर बिहे गर्दिनुस् न, सुध्रिहाल्छ नि।’

कुरैकुरामा यो संवाद कानमा परेपछि भने मेरो जासुसी दिमाग उद्देश्यपूर्वक नै त्यही बैठकमा केन्द्रित भयो। सामुन्ने बसेर सुन्ने र सुनाउनेहरूका लागि सामान्य गन्थनकै विषय थियो। तर अलि परबाट सुन्ने साक्षी बनेको मलाई भने त्यो मामिला निकै गम्भीर लाग्यो।

सानै छँदादेखि महिला सशक्तिकरणका ठूलाठूला कुरा उहाँका मुखबाट सुन्दै आएकाले ती आन्टीलाई पहिले म साँच्चै नारी आदर्श मान्थेँ।

अलि समयअघि मात्र कान्तिपुरको शनिबारे अंकमा प्रकाशित मेरो एउटा अनुभवजनित आलेख पढेपछि उहाँले भन्नुभएको थियो, ‘तिमी आजकल खुब विद्रोही भएकी छौ त सानी, के भयो त्यस्तो?’

उहाँको त्यस्तो प्रश्नवाचक प्रतिक्रियाको जवाफमा मैले भनेकी थिएँ, ‘समाचार बटुलेर मात्र हुँदो रहेनछ आन्टी, सामाजिक समस्याको समाधान खोज्न चर्कै आवाज चाहिँदो रहेछ।’

मेरो त्यो जवाफमा उहाँले कुनै टिप्पणी गर्नुभएन। बरु राति सुत्ने बेला ममीले आफूभन्दा ठूलासँग आइन्दा त्यसरी मुखमुखै नलाग है छोरी भनेपछि म झसंग भएँ।

किनभने बिहान ती आन्टी र मबीचको संवादमा ममी हुनुहुन्न थियो। तर मेरो जवाफमाथिको प्रत्युत्तर उहाँले सोझै ममीलाई सुनाउनु भएछ।

त्यस दिन ममीलाई त मैले आइन्दा त्यसरी चर्को स्वर नगरौंला भनेर शान्त बनाएकी थिएँ। तर त्यही कुराले मनमा भने अशान्ति मडारिइरहेको थियो। बैठकको दिन तिनै आन्टीले अरू कसैलाई दिएको महिलामाथिको घातक सल्लाहले मलाई सोच्ने विषयको एक भारी बहाना बोकाइदियो।

भित्रको संवादबाट के थाहा भयो भने टोलकै एकजना दाजु लागुपदार्थको कुलतमा फस्नु भएछ। सुधार र पुनर्स्थापनाका लागि गरिएका अनेक प्रयत्नहरू निस्फल भएछन्।

उनका विषयमा सारा वृतान्त सुनेपछि तिनै आन्टीले त्यसरी लागुऔषधको अधीनमा पुगेका दाजुकी आमालाई सुधारका लागि एउटी केटी खोजेर बिहे गरिदिनुपर्ने उपाय सुझाउनुभएको थियो।

त्यति वास्तविकता स्पष्ट भएपछि चुपचाप बस्न सकिनँ। अनि त मभित्र तत्कालै अर्को अतिवाद उदायो।

त्यसपछि उठेर भित्र गएँ र आँट निकालेरै भनेँ, ‘ए आन्टी, मेरी एउटी साथी छिन्, त्यसरी नै कुलतमा फसेकी। हजुरको छोराको बिहे उनैसँग गरिदिऔं न, हुन्छ? किनभने हजुरको छोरा निकै सोझो, भलादमी र इमानदार पनि हुनुहुन्छ। मेरो साथी सुध्रिन्छे कि! जीवन त सबैको उति नै अमूल्य होइन र?’

त्यति भनेर म आफ्नो कोठातिर लागेँ।

ती आन्टी रिसले चुर हुँदै के-के भन्दै हुनुहुन्थ्यो। मैले सुनेर फेरि अर्को प्रतिक्रिया दिने धैर्य राखिनँ। किनभने मलाई त्यत्तिमै हदैसम्म असैह्य भइसकेको थियो।

त्यस्तो मनोदशामा रूमलिएका परिवार र उसरी नै कुलतमा फसेका केटालाई असल केटी खोजेर विवाह गराउन सल्लाह दिने शुभचिन्तकहरू हाम्रा टोलछिमेकमा कति होलान्?

स्वयंले चुनेका योजनासँगै आफ्ना आमाबाबुका सुन्दर सपना लिएर हुर्किँदै गरेका निर्दोष छोरीहरूले कसैका बिग्रेका छोरा सुधार्ने ठेक्का लिएका छन् र?

मेरो जीवनका सपनाहरूलाई पनि ठिक त्यस्तै तुफानले एक पटक तहसनहस पारेकाले हुनसक्छ, त्यस दिन सुन्नुपरेको सार्वजनिक संवादले मलाई नराम्ररी चिमोट्यो।

अझै पनि सुशिक्षित परिवारमा जन्मेर सुन्दर जीवनको सपना बुनिरहेका कति नवोदित नारीहरुलेमेरै जस्तो नियति भोग्ने हुन्, त्यो सम्झेर आङै सिरिंग भयो।

त्यस्तो परिस्थितिको भूमरीमा अन्य कोही दिदीबहिनी पिल्सिएको स्वीकार्ने त परको कुरा, कल्पनासम्म पनि गर्न सकिनँ। अनि त त्यससँग जोडिने अनेक पात्र, परिस्थिति र परिदृष्यहरू एकाएक आँखामा नाच्न थाले। त्यसबाट विचलित भएको मन शान्त हुन कैयौं दिन कुर्नुपर्‍यो।

टोलभरिका महिलाले सामूहिक हितका लागि छलफल गर्न बोलाएको सार्वजनिक बैठकमा एक अगुवा महिलाले दिएको सल्लाह लैंगिक हिंसाको चानचुने बिउ थिएन। त्यस्ता दुषित मान्यतालाई घरभित्रको मझेरीमा टुंगिन लायक गन्थन मन्थनमै सीमित हुन कहिलेसम्म दिइरहने?

यस्ता संवेदनशील मामिलालाई सशक्त सामाजिक र लैंगिक सवाल बनाउने जिम्मा केवल भुक्तभोगीहरूको भागमा मात्र पर्नुपर्ने हो?

यस्तो मानसिकता फैलाउन घरघरमा विस्तार भएका सानातिना संस्कारहरूले बल पुर्‍याएका छन्। जस्तो कि घरघरका आमाबाबुहरू आफ्ना छोराहरूलाई आफैंले खाएको थालसम्म धुन पनि सितिमिति सिकाउनु हुन्न। तर यही मामिला प्रायः हरेक घरका बाआमाले छोरीहरूका लागि सानैबाट बानी पार्ने व्यावहारिक कक्षाको अनिवार्य पाठ्यक्रमभित्र राखिएकै हुन्छ।

हामीले पर्फेक्ट हाउस किपिङको परीक्षामा सधैं उत्तीर्ण हुन तम्तयार भएर बस्नुपर्छ। एवं रीतले घरमा पर्फेक्ट कूक, पर्फेक्ट नर्स, पर्फेक्ट म्यानेजर, पर्फेक्ट कृषक, पर्फेक्ट अकाउन्टेन्ट इत्यादि सबै बन्नुपर्छ। नत्र हामीले घर गरी खान सक्दैनौं रे!

त्यसरी परिचालित हुन तालिमप्राप्त सिपाही जस्ता भएका हामी बाहिर अफिसमा अझै पर्फेक्ट हुनुपर्छ। किनभने पढेलेखेका कारण सीप र शिक्षा दुवैको परीक्षार्थी जो भएका छौं। तसर्थ पर्फेक्ट हुने कुरालाई बेवास्ता गरी बसेमा पढेलेखेको भएर मात्र के गर्नु, फलानाकी छोरी/बुहारीको त काम गर्ने ढंग केहीमा पनि रहेनछ भनेर यही समाजले हामीलाई नै औंला उठाउँछ।

दुर्भाग्य उही छ कि त्यसरी प्रश्न उठाउनेमा महिलाकै भूमिका अग्रणी हुन्छ। परिवारभित्र सासू-बुहारी, नन्द-भाउजू, देउरानी-जेठानीबीच नै एकआपसमा हार्दिकता र सम्मान छैन।

यो देख्दा लाग्छ, हामी नारीहरूको सामूहिकतामा उभिएको आत्मसम्मानको बलियो वृक्ष आफ्नै हातको बञ्चरोले त लडाइरहेका छैनौं? यस्तो परिवेशमा घरभित्र र बाहिर जतासुकैबाट धावा बोलिरहेको पितृसत्तात्मक सोच तथा पुरूषवादी अहंकारले ग्रसित विभेदकारी संरचना विरूद्धको मोर्चा कसरी दह्रो होस्?

यस्ता आन्तरिक सवालमा हामी स्पष्ट छैनौं। यदाकदा कुनै समाजमा आन्तरिक एकता मजबुत भए पनि त्यसपछिको चरणमा उठाउनुपर्ने लैंगिक मुद्दाहरू सतहमै आएका छैनन्।

बहुसंख्यक महिलालाई महिनावारीको समयमा प्रायः एकदेखि दुई दिनसम्म हुने अति नै पीडालाई दबाएर कार्यस्थलमा खटिनुपरेको अवस्था एउटा दारूण उदाहरण हो। अझ त्यस्तो बेला प्रकृतिले नै कमजोर बनाएका यी महिलाहरू हामी सरह काम गर्न त के सक्थे र भनी टिप्पणी गर्ने असंवेदनशील पुरूष सहकर्मीको कमी छैन।

एउटा अलि फरक तर सान्दर्भिक प्रसंग सम्झिएँ। क्याम्पसमा हामीलाई जेन्डर विषय पढाउने पुरूष प्रोफेसरले एक दिन आफ्नो पर्सबाट श्रीमतीको एटिएम कार्ड निकालेर देखाउँदै गर्वका साथ भन्नुभयो, ‘यो कार्ड उनको नाममा छ तर आवश्यकता कहिल्यै पर्दैन। किनभने बैंकबाट पैसा निकाल्ने र चाहिएका सामान किनमेल गर्ने काम मेरै हुन्छ। आउजाउ गर्ने साधन (गाडी) मैसँग हुन्छ, उनलाई झन्झटै छैन।’

उहाँले आफूमा आश्रित आफ्नै सुशिक्षित श्रीमतीको उदाहरण दिएर शानसँग हामीलाई कक्षामा फेमिनिजम बुझाइरहँदा थुपै प्रश्न उठेका थिए। तर सोध्नुको औचित्य देखिनँ।

कतिपय नारीहरूमा बौद्धिकता जति सशक्त भए पनि आत्मनिर्णयको शक्ति अत्यन्त कमजोर छ भन्ने बुझेँ, बस्।

गाउँ-गाउँका निरक्षर तथा सोझा महिलाको अवस्था झन् कस्तो होला? यथार्थमा हाम्रो जीवन यसैगरी पराश्रित भएर बितिरहेको छ।

अर्को दृष्टान्त लिऔं।

कानुनले छोरा र छोरीलाई अंशमा समान अधिकार दिएको छ। तर कुनै छोरीले पैतृक सम्पत्तिमा अंश मागिहाले भने समाजका ठालुहरू आउँछन् र भागबण्डा गर्दा भाँजो हाल्छन्।

‘यसलाई यति भए पुग्छ। माइती नै टुङ्ग्याएर केको अंश लिनु? पछि माइती चाहिँदैन?’ उनीहरूबाट सुनिने अंश लिन लागेकी छोरीप्रति लक्षित केही प्रतिनिधि अभिव्यक्ति यस्ता हुन्छन्। हामीले कानुनी अधिकारका अबरोध पन्छाउन यस्तो एकात्मक सोच भएकाहरूसँग कति पो लड्नुपर्ने हो!

यसो गर, उसो नगर। यो ठिक, त्यो बेठिक। यता जाऊ, उता नजाऊ। यो लगाऊ, त्यो नलगाऊ। ऊसँग बोल, त्योसँग नबोल। यस्ता यावत् पुरातन मान्यताहरू महिलाको थालमा पस्किएर आफू मिठोमसिनो रोजीरोजी खान पल्किएका रवाफी भान्सेहरू अनेक आवरणमा यत्रतत्र छन्।

तिनलाई सक्कली अनुहारमा चिन्न नसकेसम्म हामीले प्राप्त गरेका उपलब्धि पनि छिन्नभिन्न भएर खेर जानेछन् भन्ने यथार्थ बुझ्नमा ढिलाइ गर्नु हुँदैन।

किनभने सदियौंदेखि घरभित्रको भान्सामा बलियाबांगा पुरूष जति सबै टन्न अघाएपछि बाँकी रहेको आधा पेट खाएर पटुका कसेका बुहारी र आमाहरूको त्यागको सावाँब्याज असुल्ने बेला अब आएको छ।

घरबाहिर निस्केर समाजका रवाफी भान्से बदल्न हामी एकसाथ कस्सियौं भने त्यो दिन धेरै पर छैन।

नत्र लैंगिक हिंसाका अनगिन्ती समाचारले भरिएका अखबारका पानाहरू कहिलेसम्म पल्टाइरहने? पुरुष प्रभुत्ववाद र पितृसत्ताले महिलाको अगाडि जब्बर भाषामा फर्माइरहेकाहरूको ‘कुखुरी काँऽऽऽ’ कतिसम्म सुनिरहने?

यी र यस्ता तमाम प्रश्नहरूको ठेलीले महाभारतको रूप लिनुअघि र समाज कुरुक्षेत्र बन्नुअघि आफ्नो जीवनको गोरेटो आफैले कोर्ने सवालमा नारी-पुरुषको बराबरी अस्तित्वलाई स्वीकार्ने राजमार्गको शिलान्यास गर्न अब विलम्ब गर्नु हुँदैन।

नारीवादको पक्षमा नारा घन्काउँदै चिच्याइरहँदा हाम्रो विरोध पुरुषको हैन, तमाम हिंसाको सोच विरुद्ध हो भन्ने बुझ्नु र बुझाउनु जरूरी छ।

विश्व समाजले परिवर्तनको उचाइ चुमिरहँदा हाम्रो जस्तो पितृसत्तात्मक संरचनामा अडेको धार्मिक मूल्यमान्यतामा आधारित समाजमा परिवर्तन त्यति सहज हुँदैन तर असम्भव छैन।

हिजो मेरी हजुरआमाले जुन जिन्दगी बाँच्नु भयो, त्योभन्दा अलि सहज जीवन मेरी ममीले बाँच्दै हुनुहुन्छ।

म अझै सहजता खोज्दैछु।

प्रगतिको यो स्वाभाविक प्रक्रिया चलिरहन्छ। तर हामीलाई त्यतिले पुग्दैन। त्यसकारण अब महिला या पुरूष जोसुकैमा देखिने पुरुषवादी अहंकारी सोचलाई ठाउँको ठाउँ प्रतिवाद गर्नुपर्छ।

कहीँ बुबाले महिलाको सम्मान गरिरहँदा आमाले नै महिलाको अपमान गरिरहेको भेटिन सक्छ। त्यस्ता परिवेशहरूलाई नै परिवर्तनको अवसरमा बदलेर हामीले बोलिहाल्नुपर्छ।

नत्र नारीको सम्मान विरूद्ध सदियौंदेखि संगठित सामाजिक संरचनाको पक्षपाती अदालतले एकतर्फी बहस चलाइराख्ने छ र आफै न्यायाधीश बनेर निर्मम फैसला सुनाउनेछ- ‘तिमी नारी हौ, त्यसैले तिमीले सहनुपर्छ।’

खबरदार! अब हामी यस्ता फैसला मानेर बस्ने छैनौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *