‘एउटा छोरा पानामाको जंगलमा बित्यो, अर्को बाटोमा छ’

News

गाउँका केटा अम्रिका हिँड्न लागे पछि छोरा (प्रदिप खत्री) ले पनि जान्छु भन्यो । गाउँबाट मान्छेहरु गैराथे । घर छेउकै पलसिंह खत्रीको छोरा पनि अम्रिका पुग्या थे । राम्रै पैसा कमाएका थिए ।

त्यै देखेर छोरा पनि अम्रिका जान्छु भन्यो । हामीले पनि नाइ भनेनौं । रहर गरेपछि जा भन्यौं । राम्रै त कमाउने होला भन्ठान्यौं । तर जान धेरै पैसा चाहिने रैछ । पैसो उसैले जुटायो । हाम्रो त के थियो र ? गाउँघरमै यता उता गरेर उसैले ५५ लाख रुपैयाँ जुटाएर दलाललाई बुझायो ।

०७८ भदौमा घरबाट हिड्या थ्यो । एक वर्ष भएको थियो हिँडेको । बेला बेला फोन गर्थ्यो । जंगलको बाटो हिँड्नुपर्छ, दुःख हुन्छ भन्थ्यो । दुई तीन दिन अघिसम्म फोनमा कुराकानी भएको थियो । २/४ महिनामै अम्रिका पुग्छु भन्थ्यो । त्यसपछि कुरै हुन पाएको थिएन ।

तर २७ असोज ०७९ का दिन छोरा वित्यो रे भनेको हल्ला गाउँमा सुनेँ । सुरुमा त पत्याइनँ । पछि सबैले फेसबुकमा मेरो छोरा प्रदिपसँगै जंगलमा डुंगा पल्टेर ४ जना मरेको भन्ने समाचार आएको छ भने । धेरैदिन त हैन होला भन्ठाने । सबैले प्रदिप नै हो भनेपछि हो जस्तो लाग्यो ।

गाउँलेले प्रदिप मरिसक्यो काजकिरिया गर्नुस् भनेका छन् । मैले लाश नदेख्दासम्म गर्दिन भनेको छु । मलाई अझै पनि आइ पो हाल्छ की जस्तो लाग्छ
तर पनि मरिसक्यो होला भनेर मन मान्दैन । आइ पो हाल्छ की, फोन पो गरिहाल्छ की जस्तो लाग्छ । न लाश देख्या न केही, पत्याउने पनि कसरी भन्नोस् न ? लाश नदेख्तासम्म पत्याउनै गाह्रो हुने रहेछ । त्यैभएर अहिलेसम्म किरिया गर्‍या छैन । कतै फस्या होला, बाटो विर्सियो होला भन्ने लाग्छ ।

तर, गाउँलेले प्रदिप मरिसक्यो काजकिरिया गर्नुस् भनेका छन् । मैले लाश नदेख्दासम्म गर्दिन भनेको छु । त्यसैले अहिलेसम्म पनि किरिया गर्‍या छैन । मलाई अझै पनि आइ पो हाल्छ की जस्तो लाग्छ । तर मेरो पनि एक मनले त मरिसक्यो भन्छ । बाच्या भए फोन गरिहाल्थ्यों, सम्पर्कमा आउँथ्यो नि !

प्रदिप जाँदा उस्की जाहान सुत्केरी थिई । एक महिनाको बच्चा थियो । दुईवटा अरु साना बच्चा थिए । बच्चा सानै हुँदा विधवा भइ (बुहारीतर्फ देखाउँदै ) । यी बच्चालाई के गरी हुर्काउने हो ? के खुवाउने हो ? के गरी लेखाई पढाई गराउने हो ? यस्तो हुन्यो भन्ने थाहा पाएको भए पठाउने नै थिइन । अरु पनि गएका थिए, राम्रैसँग जाला भन्ने सोचियो । यस्तो भयो ।

छोरा वितेको पिर छँदै छ । त्यत्रो ऋण गरेर ल्याएको पैसा के गरी तिर्ने हो ? हिसाब किताब कति हो क्यै थाहा छैन । मैले थाहा पाएजति कापीमा टिपेको छु । ५५ लाख रुपैयाँ ऋण छ भन्ने थाहा छ । अ‍ैले त सयकडा तीनले एक करोड पुग्नै लाग्यो होला ।

यो पनि पढ्नुहोस
सिंगो गाउँ नै अवैध बाटोबाट अमेरिका छिर्ने तरखरमा
त्यत्रो ऋण अब हामीहरुले के गरी तिर्ने हो भनेर चिन्ता लाग्छ । साहुँ पैसो दिन पर्‍यो भन्दै घर आइ रहन्छन् कसरी दिने हो मैले केही मेसो पाएको छैन । घरमा राम्ररी खान लाउनै पुग्दैन । छोरा त मर्‍यो मर्‍यो, यत्रो ऋणमा पनि डुबियो । अब के गर्ने र कसो गर्ने भएको छ ।

छोरालाई पठाउने दलालको नाम पनि थाहा छैन । एक जना पुलिस थियो, पैसा उसैलाई दिएको हो । मैले त्यो दलाललाई भेट्या पनि हो । भेटेर हामीले हाम्रो छोरो मर्‍यो, अब पैसा फिर्ता दे भन्यौं । उसले पैसा दिन सक्दिन, बरु त्यहि पैसामा अर्काे छोरा पठाइदिन्छु भन्यो । हामिले हुन्छ भन्यौं । हामीसँग अरु बाटो पनि थिएन । त्यत्रो ऋण तिर्नु थियो ।

अहिले त्यो छोरा अम्रिका जान हिँड्या छ । उ बाटोमै छ । अब त्यै छोराको आश छ । ऊ पुग्यो भने दाइको पनि ऋण तिर्छ । एउटा छोरा मरेपछि त्यही बाटो अर्काे छोरा पठाउन मन थिएन नि, के गर्नु हजुर दलालले फसायो ।

(अ‍वैध रुपमा अमेरिका जाने क्रममा २०७९ असोजमा पानामाको जंगलमा ज्यान गुमाएका प्रदिप खत्रीका बुबा बागविर खत्रीसँग अनलाइनखबरकर्मी आभास बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *