भूकम्पले ममीको प्राण लग्यो, शुक्रबार रातिदेखि उनले आमाको दूध खान पाएकी छैनन्…

News

जाजरकोट नलगाड नगरपालिका– ५ की दश महिनाकी विवशा बोहरालाई ७० वर्षीया हजुरआमा तिर्खा बोहराले च्यापिरहेकी छिन् । विवशा रोइरहेकी छिन् । आमाको दूध मागिरहेकी छिन् । हजुरआमा फकाइफुलाइ गर्छिन् तर विवशा मान्दिनन् । गत शुक्रबार रातिदेखि उनले आमाको दूध खान पाएकी छैनन् । कारण हो, विनाशकारी भूकम्पले विवशाकी २१ वर्षीया आमा कृष्ण बोहराको प्राण लग्यो । विवशाले ममीको न्यानो काख गुमाइन् ।

‘ममीको दूध खोजिरहेकी छिन् । एकछिन भुईंमा बस्न मान्दिनन् । बोक्दा पनि रोइरहेकी छिन् । ममी… ममी… मात्र भन्छिन् । भैँसीको दूध खुवाएका छौँ, मानेकी छैनन्,’ विवशाकी फुपू प्रतीक्षा बोहराले सुनाइन् । गत शुक्रबार राति ममीको काखमा सुतेकी विवशा बिहान एक्लै थिइन् । एकातर्फ आमा अर्कोतर्फ मामाघरको हजुरआमा । ममी र हजुरआमाको बीचमा सुतेकी थिइन् विवशा । भूकम्पले विवशाको ममी र हजुरआमा दुवैलाई लग्यो ।

‘ममी र हजुरआमाको बीचमा सुतेकी नातिनी जोगिइन् । भगवान्‌को लिलाले बाँचिछन्,’ बुहारीको किरिया गर्न बसेका ७३ वर्षीय कालीबहादुर बोहरा भन्छन्न । नलगाडबाट दसैँमा माइती भेरी नगरपालिकामा छोरीसहित गएकी थिइन् कृष्ण । अघिल्लो साता बुहारी र नातिनी लिन भेरी गएका थिए कालीबहादुर । बुहारीले तिहार मनाएर घर आउने भनेपछि कालीबहादुर फर्किएका थिए । तर, भूकम्पले उनलाई न तिहार मनाउन दियो, न घर फर्किन पाइन् । ‘भूकम्पले यस्तो घटना भयो,’ बिलौना गर्छन् कालीबहादुर ।

२१ वर्षीया कृष्ण र २९ वर्षीय विवशबीच डेढ वर्षअघि प्रेमविवाह भएको थियो । तर, यतिबेला उनी श्रीमतीको काजकिरियाको सामग्री जुटाउन विवश छन् । ‘माइतबाट तिहारपछि आउँछु भनेकी थिइन्,’ विवश भक्कानिन्छन् ।

श्रीमती, छोरी र आमाबुबाको सहारा विवश रोजगारका लागि भारत जाने तयारीमा थिए । विवश गत भदौमा दसैँ मनाउन नेपाल आएका थिए । तिहार मनाएर श्रीमती घर फर्किएपछि फेरि भारत जाने योजना थियो विवशको । ‘श्रीमतीले सहारा दिन्थिन् । तिहार मनाएर उनी फर्किएपछि फेरि भारत जाने सोच थियो । ‘श्रीमती कहिल्यै घर नफर्किने गरी अस्ताइन् । पीडा र दु:ख पनि गरिबलाई पर्ने रहेछ,’ दश महिनाकी छोरी हेर्दै उनी भन्छन्, ‘छोरी एक वर्षकी पनि पुगेकी छैनन् । कसैसँग मान्दिनन् ।’

दिउँसो फूपू र हजुरआमाले हेरे पनि राति सुत्ने बेला विवशाले ममीलाई खोज्छिन् । ‘रातभर मेरै काखमा राखेको छु,’ विवश भन्छन्, ‘छोरीलाई छोडेर रोजगारका लागि भारत जाँदिनँ । छोरीलाई हुर्काउँछु ।’ भूकम्पले श्रीमती गुमाएका विवशको घर पनि सग्लो छैन । शुक्रबार रातिदेखि तोरीबारीमा बास छ ।

‘भूकम्पले घर भत्किएको छ । तोरीबारीमा पाल हालेर बसेका छौँ,’ उनले भने । बुहारीको काजकिरियामा बसेका कालीबहादुर चिसोले झन् थिलिएका छन् । ‘पहाडमा गरिब छौँ । आर्थिक छैन । बुहारीको काममा चिसोमा छुट्टै बसेको छु । रातभर शीत पर्छ,’ उनले दु:खेसो गरे ।

उनको परिवारले एउटा पाल पाएको छ तर कालीबहादुर कसैलाई नछोई छुट्टै बस्नुपरेकाले पाल पुगेको छैन । १० दिनमा सिध्याउनुपर्ने कर्म ७ दिनमा गर्ने तयारी उनको परिवारले गरेको छ । ‘भूकम्पबाट बाँच्यौँ तर चिसोले लैजालाजस्तो छ । अब ७ दिनमा काम सकाउने कुरा भइरहेको छ,’ उनले भने । शिला पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *