बालिका हत्या प्रकरण: ३८ वर्षीय धीरेनकुमार पक्राउ

News

मोरङको पथरीशनिश्चरे नगरपालिकामा शौचालय गएकी १५ वर्षीया बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

मंगलबार पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीलाई सार्वजनिक गरेको हो।

सोमबार राति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित मामाको छोरा (दाजु) को घरमा बस्दै आएकी ज्ञानमति थुलुङ राईको निर्मम तरिकाले हत्या भएको थियो।

बाराको सिमरामा घरै बनाएर बस्दै आएका चौधरीले योजनावद्ध तरिकाले ज्ञानमतिको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चौधरी विवाहित पुरुष हुन्। मोरङ प्रहरी प्रमुख नवराज कार्कीले सार्वजनिक व्यक्तिको एक श्रीमती र १४ वर्षीय छोरासमेत रहेकाे बताए।

वैदेशिक रोजगारीका क्रममा दुबई बस्दा सामाजिक सञ्जालमार्फत छोराकै उमेरकी ज्ञानमतिसँग चिनजान भएको थियो। विदेशबाट फर्किएर बाराको सिमरामा घर बनाएर बस्दै आएका धीरेन र ज्ञानमतिबीच भेटघाट हुने गरेको थियो। तर ज्ञानमतिका परिवारले नस्विकारेपछि हत्या गरेको हुनसक्ने प्रहरीको आङ्कलन छ।

हत्यापछि फरार बनेका चौधरीलाई प्रहरीले गएको राति नै बेलबारीस्थित भाउन्नेको जंगलबाट नियन्त्रणमा लिएको थियो। दसी–प्रमाण जुटाएर प्रहरीले आज अपराह्न मात्र सार्वजनिक गरेको हो।

प्रहरीले घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याएको छ। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा अनुसन्धान गर्न थप सहज हुने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *