लन्डनको संसदमा महिनावारी पेन्टीको बहस पुर्‍याउने नेपाली

News

बेलायतमा रुवीले उत्पादन गरेको महिनावारी पेन्टीले महिनामा चार दिन काल झैं लाग्ने किशोरी र महिलाको हैरानीलाई कायापलट गरेको छ । यसको उपयोगिता देखेर बेलायती संसद्ले भ्याटमा समेत छुट दिएको छ ।
रुवी राउत
रुवी राउत दिनमा चार वटाभन्दा बढी मिटिङमा बस्छिन् । पहिलो मिटिङ ‘स्ट्याण्ड अप’बाट सुरु हुन्छ । जसमा आज के काममा केन्द्रित रहने भनेर छलफल हुन्छ । त्यसपछिको तीनवटा मिटिङमा ‘वुका’ ब्रान्डलाई कसरी महिलामैत्री बनाउने, अन्तर्राष्ट्रिय बजारमा स्थान लिने भन्नेमै छलफल र काम हुन्छ ।

रोजगार पाउनु र बिजनेस बढाउनु; वर्तमान परिवेशमा यी दुवै चुनौतीपूर्ण कुरा हुन् । तर, यी दुवै परिस्थितिको अपवादमा छिन् उद्यमी तथा वातावरण विज्ञ रुवी राउत । उच्च शिक्षाको सिलसिलामा बेलायत पुगेकी ३२ वर्षीया राउतलाई अहिले भ्याई–नभ्याई छ । उनको ‘वुका’ ब्रान्डको कुरा गर्ने हो भने अहिले यो ब्रान्ड विश्वको तेस्रो स्थानमा र बेलायतमा पहिलो स्थानमा राज गरिरहेको छ । अनि उनी विदेशी भूमिमा तहल्का मच्चाइरहेकी छिन् ।

बेलाबखतमा अभियान गरेर हुन्छ कि सामाजिक सञ्जालमा भिडियो बनाएर वा मिडियामा पस्किएर हुन्छ, प्रचार–प्रसारमा ब्रान्डको मार्केटिङ हेरिरहेकी उनको ध्यान यसमै केन्द्रित छ । रात–दिन उनको मन र दिमागले सोचिरहन्छ कसरी ‘वुका’ ब्रान्डलाई विश्वसामु चिनाउने ?

नेपालमा जन्मिएकी रुवीलाई आज धेरैजसो राष्ट्रले नयाँ सोच भएकी महिला उद्यमी भनेर चिन्छ । रुवीलाई ती महिलाले चिन्छन् जसलाई महिनावारीमा प्याड र टेम्पोन लगाउन झन्झट लाग्छ । जसलाई महिनावारी आउनु अगावै पीरले सताउँछ । राउतले महिनावारी हुँदा प्याड, कपडा लगाउनुपर्ने झन्झटबाट धेरै महिलालाई मुक्ति दिलाएकी छिन् ।

लन्डनबाट सञ्चालित ‘वुका’ ब्रान्डबाट दैनिक ४०० भन्दा बढी पिस महिनावारी पेन्टी उत्पादन हुन्छ । यो लगाएपछि कपडा वा प्याड लगाइरहनु पर्दैन । जुनसुकै उमेरका किशोरी र महिलाले यसको प्रयोग गर्न सक्छन् ।

महिनावारी पीडाको आफ्नै कथा–व्यथा हुन्छ । एक त महिनावारीमा पीडा खपिनसक्नु हुन्छ । अर्कोतर्फ, प्याड तथा कपडा लगाउँदा रक्तस्राव भएर छिचोलिने र लत्पतिने समस्या धेरै महिला तथा किशोरीले भोगिरहेका हुन्छन् ।

महिनाको चार दिन धेरैको लागि एउटा काल काटे झैं हुनसक्छ । यस्तोमा महिनावारी पेन्टीले राहत दिने उनी दाबी गर्छिन् ।

वुकाको पूरा रूप ‘वेक अप किक एस’ हो । जसलाई अर्थ्याउँदै राउत भन्छिन्, ‘यसको आशय हो, महिनावारीलाई गलत रूपमा नलिऊँ । यो नराम्रो कुरा होइन । यो नामको ब्रान्ड राख्यौं भने महिनावारीप्रति सकारात्मक सन्देश जाने भएर वुका नाम दियौं ।

महिनावारीलाई सहज र आरामदायी उत्पादनको विकल्प खोजिरहने किशोरी र महिलाको लागि वुका एउटा राम्रो विकल्प बनिरहेको छ । जसले विस्तारै विस्तारै ल्याण्डफिलमा जाने प्याडको संख्या कम गरिरहेको छ ।
पाँच दशकदेखि प्याड, टेम्पोन मात्र बजारमा थिए । तर, महिनावारी पेन्टी पछिल्लो समय मात्र आएको नयाँ उत्पादन भएको राउत बताउँछिन् । लन्डनको ठूला—ठूला सुपरमार्केटमा यो प्याड र टेम्पोन सँगैको लहरमा बेच्न राखिएको छ ।

राउत भन्छिन्, ‘हेर्दा एउटा कट्टुले यत्रो स्थान पाएको भन्ने लाग्न सक्छ । तर, यो महिनावारी पेन्टी धेरै महिलाको लागि सारथि जत्तिकै सावित भएको छ । यो पेन्टीले महिनावारी बिर्साएको छ । यो लगाउनेहरूको प्रतिक्रिया हो ।’

महिला पर्यावरण नेटवर्कका अनुसार एक जनाले प्रयोग गरेको महिनावारी उत्पादन टेम्पोन र प्याडले प्रति वर्ष दुई लाख टन फोहोर उत्पादन गर्छ । रुवीका अनुसार यो एउटा पेन्टीले १०० वटा प्याड र टेम्पोन बराबरको काम गर्छ । एकपटक प्रयोग गरेपछि धोएर लगाउन मिल्ने हुँदा वातावरणमैत्री पनि रहेको उनको भनाइ छ ।

‘९० प्रतिशत प्याड प्लास्टिकले बनेका हुन्छन् । जुन कुहिनका लागि ६०० देखि ८०० वर्षसम्म लाग्छ । तर, यो महिनावारी पेन्टी पुनः प्रयोग गर्न मिल्छ । जुन नरम र मुलायम लेन्जिङ माइक्रोमोडल फेब्रिकबाट बन्छ । र, यसमा कुनै हानिकारक केमिकल मिसाइएको हुँदैन । जसका कारण ८ घण्टा लगातार लगाउन सकिन्छ । रगतले भिजेको जस्तो अनुभव पनि हुँदैन’, उनी भन्छिन् ।

‘अन्य देशमा यस्ता पेन्टी पहिला आविष्कार नभएका होइनन् । सबैको आफ्नो विशेषता छ । तर, वुकामा अन्य पेन्टीको जस्तो ट्याम्पुन र प्याड प्रयोग गरी तयार गरिएको छैन । जुन यसको विशेषता हो ‘उनी भन्छिन्, ‘हेर्दा अन्य जस्तै साधारण देखिने यो पेन्टीको अर्को विशेषता हो, बगिरहेको रगत सोसेर सुख्खा बनाइराख्नु ।’

यही प्याड प्रयोग गरिरहेकी भक्तपुरकी निशा कार्की भन्छिन्, ‘प्याड लगाउँदा रगत छिचोलिएर अन्य कपडामा लाग्ने कारण म हैरान थिएँ । दुई वर्षदेखि प्रयोग गरिरहेकी छु र म निराश हुनुपरेको छैन ।’

रुवीको कम्पनीले तयार पारेको महिनावारी पेन्टी वातावरणमैत्री भएको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. प्रियंका त्रिपाठी बताउँछिन् । उनी भन्छिन्, ‘मैले आफैंले प्रयोग गरेको छैन । तर, यो ब्रान्डले उल्लेख गरे अनुसारकै उत्पादन हो भने अन्य महिनावारी उत्पादन भन्दा स्वच्छ र सुरक्षित हुनसक्छ । केमिकल फ्री हुनु नै सबैभन्दा ठूलो कुरा हो ।’

यही विशेषताको कारण यसका प्रयोगकर्ता बढिरहेका छन् । यसको उपभोक्ता बेलायत, अमेरिका, फ्रान्स, क्यानडा लगायत ४८ देशका महिला छन् ।

प्रयोगकर्ता मात्र बढेका छैनन् । उनले बेला–बखतमा सम्मान पाउन थालेकी छन् । महिला उद्यमीदेखि वातावरणमैत्री उत्पादन बनाएको कारण उनले १९ वटाभन्दा बढी अवार्ड पाएकी छिन् । जसमा उनलाई व्यापारमा नयाँ बाटो भन्दै ‘बेस्ट न्यु बिजनेस अवार्ड’, ‘इनोभेसन अवार्ड’ र २०२२, अप्रिलमा बेलायतले वुकाले दिगो विकासमा भूमिका खेलेको बिजनेस भनेर क्विन्स अवार्ड सबैभन्दा विशेष लाग्छ ।

नेपालदेखि लन्डनसम्म

पाँचथरमा जन्मिएकी रुवीको शिक्षा–दीक्षा झापामा भयो । उनलाई बच्चैदेखि चिकित्सक बन्ने रहर थियो । तर, नेपालमै चिकित्सक बन्ने सपना पूरा गर्नु चुनौतीपूर्ण थियो । किनभने मध्यमवर्गीय परिवारमा चिकित्सक बन्न हम्मे–हम्मे नै पर्छ ।

कक्षा १२ सम्म झापामा बसेर विज्ञान विषय पढिन् । त्यसपछि स्नातक तहको पहिलो वर्ष नसकिंदै उनी बेलायत गइन् । बेलायतमा हेल्थ एण्ड सोसियल वेलफेयर एक वर्ष पढिन् र छोडिन् । कारण, कमाएको पैसा बस्न र पढ्न नपुग्ने भयो ।

त्यसपछि उनले शौचालय सफा गर्नेदेखि रेस्टुरेन्ट, चाइल्ड केयर, ओल्ड एज केयर जता काम पाइन्छ त्यतै गर्न थालिन् । यसरी दुई वर्ष बित्यो । यही क्रममा उनले आफ्नो प्रेमी डेब्स लोकम भेटिन् । भिसा सकिनु अगावै बिहे गरेर उनी त्यहींको नागरिक भइन् ।

त्यसपछि उनले वातावरण विज्ञान पढिन् । पढाइ सकेपछि उनलाई लाग्दथ्यो, अब त अफिसमा काम पाइन्छ होला । तर, सोचे जस्तो भएन । जहाँ प्रयास गर्‍यो त्यहाँ आफूभन्दा कम अनुभवीलाई राखिन्थ्यो कारण थियो, अनुहारको रङ । उनीहरू गोरा जातिलाई प्राथमिकता दिन्थे । अनि राउतलाई अब जागिर होइन आफैं केही गर्छु भन्ने लाग्यो ।

उनले केही फण्ड लिएर ‘वेस्ट निन्जा कन्सल्टेन्सी’ खोलिन् । कतिले यही खानेकुरा खान पाएका छैनन् त कतै यही खानेकुरा फालाफाल छ । यो कुरालाई प्रस्तुत गरी ४ हजारभन्दा बढी स्कुले विद्यार्थीलाई पढाइन् । त्यस वर्षको अन्त्यमा ६० प्रतिशत खानेकुरा खेर फाल्ने क्रम घटेको थियो । जसबाट प्रभावित भएर स्कुलहरूले उनलाई पढाउन अफर गरे ।

स्कुलमा वातावरण पढाउँदा त्यसमा एउटा महिनावारी सम्बन्धी विषय थियो । जसमा उनले पहिलो पटक महिनावारीदेखि सूतीको कपडा प्रयोग गरेको, घरभन्दा बाहिर गएर बस्न परेको कुरा सुनाइन् । त्यो सुनेर विद्यार्थीलाई कथा झैं लाग्यो । तर, ती सबै याद उनको मानसपटलमा ताजा भए ।

उनले पहिलोपल्ट महिनावारी हुँदा आमाको धोतीको कपडा र १८ वर्षमा बल्ल प्याड लगाउन पाएकी थिइन् । प्याड प्रयोग गर्दा पनि कहिले खस्ने, कहिले रगत छिचोलेर लुगाभरी लाग्ने कारण उनले पुनः धोती नै लगाउन थालेकी थिइन् । जब यूकेको सुपरमार्केट गइन् उनी छक्क परिन् । प्यान्टीलाइनर, दिनमा लगाउने, रातमा लगाउने, बाक्लो, पातलो सबै खालका प्याडहरू थिए ।

‘त्यो बेला प्याडको भण्डार नै रहेछ कति राम्रो व्यवस्थापन भन्ने लाग्थ्यो । जब स्नातक तहमा वातावरणीय विज्ञान अध्ययन गर्न थालें तब मात्र मैले ती उत्पादन दिगो नहुने कुरा थाहा पाएँ । ती प्रयोग भएपछि कता जान्छन् कसैलाई मतलब छैन’ उनी भन्छिन्, ‘ती जान्छन् वातावरण प्रदूषित पार्न ।’

वातावरण खराब गर्ने र महिनावारी सकसबाट मुक्ति दिन प्याडको विकल्प के हुनसक्ला ? अनि उनको दिमागमा फुर्‍यो महिनावारी पेन्टी बनाउने जुक्ति । उनको त्यही आइडियाको उत्पादन हो– महिनावारी पेन्टी । जसका कारण उनी विदेशी भूमिमा एक सफल व्यवसायी बनेकी छिन् ।

तर, यो कसरी बनाउने भन्ने उनले भेउ नै पाइनन् । एकदिन पढाएर फर्किंदा लुगा सिउने मेसिन किनिन् । तर कसरी चलाउने मेसो नै पाइनन् । इच्छाशक्ति भएपछि असम्भव पनि सम्भव हुन्छ भने झैं उनले युट्युब हेरेर विस्तारै मेसिन चलाउन सिकिन् । र, एउटा पेन्टी माथि अर्को गर्र्दैै डबल सिलाउँदै आफैंले प्रयोग गर्न थालिन् ।

विस्तारै रगत सोस्ने केही सामग्री हुन्छ कि, जुन पेन्टीमा प्रयोग गर्न सकिन्छ भनेर खोज गर्न थालिन् । र, यसमा उनको श्रीमान्ले साथ दिए । उनी एक प्रोडक्ट डिजाइनर पनि थिए । उनले पनि डिजाइन बनाउन र तरल पदार्थ सोस्ने खालको फेब्रिक खोज्न मद्दत गरे । र, पछि पानीमुनि केवुल लगाउँदा पानी सोस्ने लिक प्रुफ लेयर फेब्रिक पाए ।

त्यही कम्पनीसँग एक मिटर मागे । उनले यसबाट ३० जोर पेन्टी बनाइन् । सन् २०१७ को अक्टोबरमा आफ्नो उत्पादन फेसबुकमा पोस्ट गरिन् । नजिकका १५ जना साथी घरमै आएर लगे । लगाएकाहरूको अति सहज र महिनावारी भएको अनुभव नै नभएको भने जस्ता अप्रत्यासित प्रतिक्रिया आए ।

त्यसपछि किकस्टाटर क्याम्पेनमा पुगिन् । त्यो एउटा यस्तो प्लेटफर्म थियो जसमा आफ्नो बिजनेस जुक्ति राख्यो भने ‘फन्ड’ पाइन्छ । उनले सो संस्थामा सामग्रीको भिडियो बनाएर पठाएर सहयोगका लागि अपील गरिन् । किक स्टाटरमा हाल्न सकियो भने उपभोक्ताले ३ महिना अघि अर्डर गर्छन् । नभन्दै ११६ जनाको अनलाइन अर्डर आयो । र, सात हजार पाउन्ड जम्मा भयो ।

त्यसपछि अर्डर बढ्न थाल्यो । र, गुगलमा खोजेर चीनमा साधारण पेन्टी बनाउने कारखानामा फेब्रिक र डिजाइन दिएर बनाउन लगायौं । त्यसपछि बेलायतको स्थानीय मिडियामा प्रचारप्रसार गरिन् । खबर छापिएपछि बीबीसी रेडियोले बोलायो ।

त्यो पल सम्झिंदै उनी भन्छिन्, ‘पहिलो प्रश्न मलाई नेपाल कस्तो छ, पृष्ठभूमि कस्तो छ भन्ने थियो । म चाहन्थें, प्रश्न महिनावारी पेन्टी र वातावरणमा यसले पार्ने प्रभावको बारे होस् । तर नेपाल यसको पृष्ठभूमि जस्ता प्रश्नहरू पछि पनि धेरैजसो मिडिया र कार्यक्रममा सोधिन्थ्यो ।’

सन् २०१८ को जनवरीबाट आधिकारिक रूपमै बेच्न सुरु गरिन् । त्यसको ६ महिना नबित्दै स्थानीय सञ्चार, मूलधारका सञ्चारमाध्यमदेखि बीबीसी वर्ल्डमा पनि समाचार आयो । त्यसपछि व्यापक नसोचेको बिक्री हुन थाल्यो । बैंकमा आफ्नो पैसा जम्मा हुन थाल्यो । अनि कुनै लगानीकर्ता चाहिएन । कुनै सरसापट र ऋण विना उद्यम अगाडि बढ्दै गयो ।

यसरी केही वर्ष उनी र उनका श्रीमानले मात्रै चलाएको वुकामा अर्डर बढ्दै गएर विस्तारै कर्मचारी थप्दै गइन् । उनको दिदी, भिनाजु, श्रीमान् बाहेक लन्डन, श्रीलंका, पाकिस्तानमा गरेर १६ जना सदस्य छन् । १६ जनाको मिहिनेतले आज ४० भन्दा बढी देशमा निर्यात भइरहेको छ यो पेन्टी । जसमा बेलायतमा मात्रै ९० प्रतिशत बिक्री हुन्छ ।

यो सफलतामा उनी पर्दा अगाडि देखिए पनि पर्दा पछाडिको हिरो आफ्नो श्रीमान् लोकमलाई मान्छिन् । ‘सुरुदेखि आजसम्म उनले ढाडस दिएर नै यहाँसम्म आइपुगेकी हुँ । उनले अहिले फुलटाइम नै कम्पनीलाई दिएका छन्’ उनी सुनाउँछिन्, ‘हरेक समय तिमी अघि बढ्नुपर्छ भन्ने उनी मेरो लागि हिरो हुन् ।’

उनी जब वुकाको उत्पादन दर्ता गर्न गइन् तब भ्याट २० प्रतिशत लगाइयो । त्यसपछि उनी चुप बस्न सकिनन् । उनले प्याड र पेन्टी उस्तै हो, दुवैमा उत्ति नै भ्याट लाग्नुपर्छ भनेर आवाज उठाइन् । भ्याट देशमा आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य जस्ता सुविधाको लागि लगानी जुटाउन लिइन्छ । तर, महिलाले हरेक महिना हुने महिनावारीमा पैसा तिर्नुपर्छ । त्यसैले यसमा छुट हुनुपर्छ भन्ने आवाज उठाइन् । विभिन्न सुपरमार्केटका मालिक, वितरक, ग्राहकले उनलाई साथ दिए ।

‘दुई जना सांसद र १८ मन्त्रीलाई भेटें’ उनी भन्छिन्, ‘चार पटकको अभियान पछि संसद्ले यही वर्षबाट लगाइएको भ्याट हटाइदियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *