बैंक मेनेजरले आफ्नै घरभेटीलाई पनि ठगे, अंकल-भतिजको साइनो लगाएर बैंकिङ कसुरमा यसरी फसाए… (भिडियो)

News

घरभेटी । झट्ट सुन्दा यो शब्द नै निरङ्कुश लाग्छ धेरैलाई । पैसा लिने तर पैसा लिएअनुसार सुविधा केहि नदिने । घरभाडा ठ्याक्कै महिनाको १ गते चाहिने, तर न घरमा पानी हुन्छ, न पैसा नै तिर्दा पनि भनेको जति बत्ति बाल्न पाइन्छ । कोहि साथीभाई घरमा आए भने त झन् घरभेटीको मुटुमा ढ्यांग्रो नै बजिहाल्छ, मानौं ती साथीहरु तिनै घरभेटीलाई झ्याप समात्न आएका हुन् । यस्तै घरभेटीका कारण बजारमा थुप्रै राम्रा घरभेटीहरु बदनाम छन् ।

कतिपय घरका घरभेटीहरु त भगवानझैं हुन्छन् । पैसा लिने र कोठा दिने मात्र होइन, सुख दुखका साथी हुन्छन् । डेरामा बस्नेलाई इज्जत गर्छन्, आफ्नै घरपरिवारझैं सम्झन्छन् । यो देशमा यस्ता घरभेटीहरु कम भए पनि, छनचाहिं छन् । र त घरभेटीप्रतिको सबैको सोचाई गलत छैन, हुनुपर्ने कारण पनि छैन ।

यो त भयो घरभेटीको कुरा । अव भाडामा बस्नेका पनि कुरा गरौँ ।

यो देशमा केहि थान मान्छेहरुले गरेको गलत कामका कारण घरभेटीहरु पनि निरङ्कुश हुनुपरेको सत्य हो । पैसा त तिरेको छ नि भनेर पानीको माया नै नगर्ने, धारा खुल्ला छोडिदिने, २ जना बस्छौं भनेर कोठा लिने तर एक दर्जन मान्छेको हप्ते पिच्छे पार्टी चल्ने, कोठाको माया नै नगर्ने, ४ पिल्लरे घरमा ४० बढी किलाकाँटी ठोक्ने, सकेसम्म घरभेटीलाई नै ठग्न खोज्ने, चिप्लो घसेर आफ्नो बनाउने र त्यहि घरभेटीलाई मुर्गा बनाउनेहरुकै कारण डेरामा बस्नेहरुलाई शंका गर्नुपर्ने स्थिति छ धेरै घरभेटीले । र आज हामी उही डेरावाल समिर बुढाथोकीको हर्कको अर्को फेहरिस्त सुनाउँदैछौँ, जसले बैंक मात्र ठगेनन्, आफ्नै घरभेटीलाई बैंकिङ कसुरमा फसाए ।

धनेश्वर आचार्य तत्कालीन वेस्टर्न डेभमेन्ट बैंकको नारायणपुर शाखा कार्यालय रहेको घरका घरभेटी थिए । गाउँभरीका सोझा जनतालाई झुक्याएर बैंकिङ कसुरमा जेल पुर्याएका तत्कालीन शाखा प्रबन्धक समिर बुढाथोकीले झुक्याउन र फसाउनलाई आफ्नै तीनै सोझा घरभेटी आचार्यलाई पनि छोडेनन् । नाता लगाउन माहिर बुढाथोकीले आचार्यसँग अंकल–भतिजको साईनो लगाए । म त बैंकको मेनेजर पो हो भनेर ढाडस दिए । तपाईंले घर दिनुभएको छ र त हाम्रो बैंक टिकेको छ भनेर गफ दिए । व्यवसाय गर्ने भए म ऋण दिन्छु भनेर ३० लाख रुपैयाँ ऋण पनि दिए ।

यसै त आफ्नै घरमा बैंकको शाखा । त्यसमाथि यति सहज खालका मेनेजर । घरधनी आचार्यलाई देउता भेटेजस्तै भयो । सहजै ऋण पाएपछि आचार्यले बैंकबाट लिएको ऋणको पैसा आफ्नो व्यवसायमा खन्याए । व्यवसाय पनि राम्रै चल्यो, उनले आफ्नो व्यवसायबाट आएको पैसा आफ्नै घरमा बसेको वेस्टर्न डेभलपमेन्ट बैंकमा राखे, जहाँबाट उनले ओभरड्राफ्ट कर्जा लिएका थिए । तर, नियत मै खोट भएका ब्रान्च मेनेजर बुढाथोकीले उनको खातामा कति पैसा छ ? भने हेर्न थाले ।

यसैबीच एक दिन लौ न घरभेटी अंकल मलाई अर्जेन्ट ५ लाख रुपैयाँ चाहियो, म एक हप्तामै फिर्ता गरिदिन्छु भनेर अनुनय गरे । आचार्यको खातामा कति पैसा छ भनेर थाहा पाएका बुढाथोकीले अंकल–भतिजको साईनो लगाएर तपाईंको खातामा पैसा रहेछ, एक हप्तामै फिर्ता गरिदिन्छु भने । एक त आफ्नै घरमा बसेको बैंक, त्यसमाथि पनि निकै आफ्नोजस्तो मेनेजर, आचार्यले विश्वासमा पैसा दिए । नभन्दै समिरले उक्त पैसा एक हप्तामै फिर्ता पनि गरे । तर यो सब भईसक्दा आचार्य भित्रभित्रै फसिसकेका थिए ।

धेरैलाई पैसा दिएर फिर्ता नपाउँदाको पीडा बुझेका धनेश्वर आचार्यलाई समिर बुढाथोकीले एक हप्तामै पैसा फिर्ता गरेपछि बुढाथोकी आचार्यका विश्वाशिला पात्र बने । त्यसको ६ महिनापछि समिर बुढाथोकीले फेरी त्यसैगरी पैसा मागे । यसअघि पनि व्यवहारमा पक्का देखिएका बुढाथोकीलाई उनले पैसा दिए, र सो पैसा पनि १० दिनमै खातामा आयो । उनले जानेको यति थियो । अरेको यति थियो । तर पछि वेस्टर्न डेभलपमेन्ट बैंक देव विकास बैंकसँग मर्ज भएपछि एकाएक आचार्यसहित थुप्रै स्थानीयको नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको खबर आयो । बुझ्दै जाँदा पो थाहा भयो, समिर बुढाथोकीले आफूलाई फिर्ता गरेँ भनेको पैसा, बैंकमा नक्कली ऋणी खडा गरी सोहि ऋणको पैसा खातामा हालिदिएका रहेछन् । अव आचार्य कानुनी फन्दामा परिनै हाले ।

सोझालाई फसाउन माहिर बुढाथोकीको ठगीको जालोमा परेका अर्का व्यक्ति हुन् नरसिंह विश्वकर्मा । बैंकबाट १७ लाख रुपैयाँ ऋण लिएका विश्वकर्मासँग पनि तत्कालीन ब्रान्च मेनेजर समिर बुढाथोकीले अंकल–भतिजकै साइनो जोडेका थिए । एकदिन समिर बुढाथोकीले फोनै गरेर विश्वकर्मालाई बैंकमा बोलाए । ब्रान्च मेनेजरले नै बोलाएपछि नजाने कुरै भएन । उनी गए । त्यसपछि समिर बुढाथोकीले गल्तीले उनको खातामा पाँच लाख रुपैयाँ गएको भन्दै फिर्ता गर्न भने । पैसा गएको प्रमाण भन्दै आफ्नै ल्याप्टपमा स्टेटमेन्ट देखाएपछि विश्वकर्माले सो रकम ‘ए, हो त रहेछ त’ भनेर फिर्ता गरिदिए । ।

आफुले विश्वास गरेका ब्रान्च मेनेजरले भनेको, त्यसमाथि आफ्नो नभएको तर पैसा आफ्नो खातामा आएको स्टेटमेन्ट नै देखाएपछि विश्वकर्माले समिरको कुरा पत्याए । तर, चतुर ब्रान्च मेनेजर समिर बुढाथोकीले बैंकिङ सिस्टमबाटै रकम फिर्ता गर्न नमिल्ने भन्दै चेक काट्न लगाए । भएको यति थियो, तर विश्वकर्मा भित्रभित्रै फसिसकेका थिए । किनकि सो रकम पनि नक्कली ऋण खडा गरी विश्वकर्माको खातामा पठाइएको पैसा थियो ।

आफ्नै घरभेटी, चिनेजानेका सबैजसो मान्छेलाई ठगेका बुढाथोकीले छिमेकीलाई पनि छोडेनन् । सापटी भन्दै समिरले पैसा लगिरहे, तिर्ने बेलामा फर्जी ऋणको पैसा खातामा हालेर मान्छे फसाईरहे । त्यसपछि त प्रहरीको पक्राउ पूर्जी थुप्रैको हातमा पुग्यो, नपुगे पनि उनीहरु जेल पुगे । कतिले दण्ड जरिवाना भोगे । गर्दै नगरेको गल्तीको सजाय पाए, पाईरहे ।

अहिले यो केस सर्वोच्च पुगेको छ । पीडीत उनीहरुलाई लागेको छ, उच्च अदालत तुलसीपुरले पनि ठुलाबडाकै प्रभावमा परेर पीडीतमाथि अन्याय गर्यो । र अहिले उनीहरु सर्वोच्चले आफुलाई न्याय दिने आशमा छन् । सम्भवतः उनीहरुको केसमा यहि चैत्र मध्येतिर अदालतमा बहस हुनेछ । पीडीतहरुको एक मात्र माग छ, गल्ती नगरेको केसमा सजाय भोग्न नपरोस् । आखिर कानुन कसैलाई फसाउन होइन, सहिलाई सहि र गलतलाई गलत भन्न बनेको हो ।

हुन त यसरी अरु थुप्रै फसेका छन् । मनोज केसीको त सर्वोच्चमा पुनरावेदन गर्ने मिति पनि सकिएको छ । आफुले गर्दै नगरेको गल्तीमा थुप्रैका सपनाहरु उजाड भएका छन्, फोकटको तनावमा परेका छन् । नखाएको बिष लागेको छ धेरैलाई । कानुनको सर्वमान्य सिद्धान्त छ, दोषी उम्कनुहुँदैन, निर्दोष फस्नु हुँदैन । तर यहाँ त थुप्रै निर्दोषहरु फसियो भनिरहेका छन् स्थानीयहरु । सर्वोच्चले न्याय देओस्, दुधको दुध पानीको पानी छुट्याओस् भन्ने आश छ सबैलाई । (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *