प्रेममा खटपट भएपछि प्रेमीले गरेका थिए हत्या, स्कुटर सिकाउने बहानामा पुर्‍याएका थिए खोल्सामा

News

धरान । धरान उपमहानगरपालिका–१६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्या उनकै प्रेमी भनिएका १९ वर्षीय बाबुराम भुजेलले गरेको खुलेको छ । धारिलो हतियारले प्रहार गरी हत्या गरेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्रै खोल्सामा फालिएको अवस्थामा सुमनाको शव भेटिएपछि प्रहरीले गरेको अनुसन्धानबाट हत्यामा भुजेलको संलग्नता खुलेको हो ।

इलाका प्रहरी कार्यालय धरानले शुक्रबार पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भुजेललाई सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिपिन रेग्मीले हत्याका आरोपी भुजेललाई धनकुटाको मुलघाटबाट पक्राउ गरिएको बताए ।

उनीहरूबीच प्रेम सम्बन्धमा खटपट भएपछि भुजेलले सुमनाको हत्याको योजना बनाएको जनाइएको छ । सुमना र बाबुरामबीच दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेपनि गत पुस महिनादेखि उनीहरुबीचको सम्बन्ध बिग्रिएको अनुसन्धानका क्रममा खुलेको छ । आरोपी भुजेलले योजनाबद्ध रूपमा श्रेष्ठको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

चैत ६ गते राति सुमनाको हत्या गरी प्रतिष्ठान र डिपोट स्कुलबीचको खोल्सामा फालिएको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीका अनुसार बाबुरामले स्कुटर सिकाउने बहानामा राती करिव ९ बजेतिर सुमनालाई घटनास्थलमा पुर्‍याएका थिए । त्यहाँ पुगेपछि उनीहरूबीच विवाद सुरु भएको र योजना अनुसार नै बाबुरामले खुकुरीले हानेर सुमनाको हत्या गरेको जनाइएको छ ।

सुमनाको हत्यामा प्रयोग गरिएको खुकुरीसमेत प्रहरीले सार्वजनिक गरेको छ । बाख्रा चराउने गोठालाहरूले शव देखेपछि घटना सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *